काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेको छ । नियामकीय मापदण्ड उल्लङ्घन गरेको भन्दै कम्पनी कारवाहीमा परेको खुलासा भएको हो ।
यद्यपी कम्पनीलाई गरिएको कारवाही कम्पनीले लामो समयदेखि लुकाउँदै आएको छ । पछिल्लो समय कम्पनीमा देखिएको सरेण्डरको डरलाग्दो ग्राफ अझै बढ्ने शंकापछि कम्पनीले आफुमाथि भएको कारवाहीको विषय लुकाएको हो ।
कम्पनीका सीइओ सुरेश खत्रीले आफ्नो कम्पनीमाथि कारवाही भएको स्वीकारेका छन् । यद्यपी सो कारवाही नेशनल लाइफ इन्स्योरेन्समात्र नभई अरु कम्पनीहरुमाथि पनि भएको उनको दाबी छ ।
बीमा प्राधिकरणमा शरद ओझा अध्यक्ष भएपछि उनले नियामकीय मापदण्ड नमान्ने कम्पनीहरुको सूची मगाएका थिए । त्यसमा नेशनल लाइफ इन्स्योरेन्स पनि परेपछि प्राधिकरणले पत्रमार्फत कम्पनीलाई कारवाही गरिएको जानकारी कम्पनीमा पुर्याएका थिए ।



