prabhu

दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीमाथि नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। कारवाहीस्वरूप केन्द्रीय बैंकले केहीलाई आर्थिक जरिवाना लगाएको छ भने केहीलाई चेतावनीसहित सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक इन्टरनेसनलले प्रमुख कार्यकारी अधिकृतसँगको करार सम्झौता संशोधन गरी सुविधा बढाएको पाइएपछि चेतावनी दिइएको छ। यो कार्य राष्ट्र बैंकको आन्तरिक निर्देशनविपरीत भएको जनाइएको छ।

यस्तै, एनआईसी एशिया बैंकलाई पनि चेतावनी दिइएको छ। बैंकले ऋणीसँग गरिएको कर्जा सम्झौतामा ब्याजदर, किस्ता र कर्जाको प्रकारजस्ता विषयहरू स्पष्ट रुपमा उल्लेख नगरेको, साथै ब्याजदर परिवर्तन हुँदा जानकारी नदिएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको हो।

फाइनान्सतर्फ, पोखरा फाइनान्सलाई अनिवार्य नगद मौज्दात  कायम नगरेको भन्दै ३२ लाख ७७ हजार ६७६ रुपैयाँ आर्थिक जरिवाना गरिएको छ। फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्मका लागि निर्धारित मौज्दात न्यून रहेको पाइएको थियो।

त्यस्तै, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई पनि सचेत गराइएको छ । रिपोर्टिङमा त्रुटि देखिनुका साथै पुराना कर्जालाई नियमित देखाउन थप कर्जा प्रवाह गरिएको पाइएपछि उनीहरूलाई चेतावनी दिइएको हो। राष्ट्र बैंकले नियमित निरीक्षणका आधारमा वित्तीय अनुशासन कायम राख्न यस्ता कदम चालिएको स्पष्ट पारेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै