काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच लघु बीमा सेवा प्रवर्द्धनका लागि आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ। सहमतिपत्रमा माछापुच्छ्रे बैंकको अनुसन्धान तथा व्यापार पोर्टफोलियो विभागका प्रमुख कुमार ज्ञवाली र नेपाल माइक्रो इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरीले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।
कार्यक्रममा गिरिले यस साझेदारीले नेपालभर साना व्यवसाय र व्यक्तिहरूका लागि अप्रत्याशित जोखिमबाट जोगिन लघु बीमा सेवाको पहुँच बढाउने विश्वास व्यक्त गरे। उनले नेपाल माइक्रो इन्स्योरेन्सको लघु बीमा क्षेत्रमा भएको अनुभव र माछापुच्छ्रे बैंकको वित्तीय पहुँच एकआपसमा समाहित गर्दा सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउने लक्ष्य रहेको बताए।
उनका अनुसार, यो सहकार्यबाट नवीन बीमा उत्पादनहरूको विकास, संयुक्त बजार प्रवर्द्धन, र सेवा प्रवाहमा सरलता ल्याउने काम हुनेछ। जसले गर्दा लघु बीमा सेवासम्बन्धी वित्तीय समाधानहरूलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्य राखिएको छ।