prabhu

कमिसन आरोपमा नयाँ मोडस् इप्पान नेताहरूको षड्यन्त्र पर्दाफाश, कार्की र ब्लोन विवादमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्की र उपाध्यक्ष उत्तम ब्लोनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि लगाएको कमिसन आरोप योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको खुलासा भएको छ।

इप्पानको नेतृत्वले बोर्डका अध्यक्ष श्रेष्ठले हाइड्रोपावर कम्पनीहरूलाई साधारण सेयर निष्कासनको स्वीकृतिका लागि ७ प्रतिशतसम्म कमिसन मागेको आरोप सार्वजनिक गरेका थिए। सोही आरोपका आधारमा केही सञ्चारमाध्यमहरूले गम्भीर समाचार सम्प्रेषण गरेका थिए। तर पछिल्ला घटनाक्रमले ती आरोपहरू नियोजित रूपमा आफूमाथिको अनुसन्धानबाट ध्यान अन्यत्र मोड्ने प्रयास भएको देखिएको छ।

उपाध्यक्ष ब्लोन संलग्न कम्पनी सीईडीबी होल्डिंग्स विरुद्ध धितोपत्र बोर्डले सेयर बजारमा मूल्य हेरफेर (म्यानुपुलेशन) र भित्री कारोबार (इनसाइड ट्रेडिङ) सम्बन्धी गम्भीर अनियमितताको अनुसन्धान अघि बढाएको थियो। बोर्ड स्रोतका अनुसार अनुसन्धान अन्तिम चरणमा पुग्दा ब्लोन पक्षले दबाब सिर्जना गर्न श्रेष्ठमाथि झुटा आरोप लगाएको हो ।

सीईडीबी होल्डिंग्सले ‘इमर्जिङ नेपाल’ लगायतका कम्पनीहरूलाई आड लिएर सेयर बजारमा नियमनविपरीत क्रियाकलाप गरेको आरोप पनि लागेको छ । साथै, ब्लोनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको व्यवसायिक साझेदारीमार्फत झन्डै ६०० मेगावाट क्षमताको सोलार परियोजनामा ६० प्रतिशत स्वामित्व प्राप्त गरेको दाबी सार्वजनिक भएको छ । ब्लोन हाल एनएमबि बैंक को सञ्चालक समितिमा पनि छन्।

इप्पान अध्यक्ष गणेश कार्कीसमेत यो विवादमा मुछिएका छन् । बोर्ड स्रोतका अनुसार, कार्कीको स्वामित्वमा रहेको बेनी हाइड्रोपावर कम्पनीले आईपीओ स्वीकृति नपाएको कारण झोकमा श्रेष्ठमाथि आरोप लगाइएको हो । तर कार्कीले आफूले कमिसनसम्बन्धी कुनै आरोप नलगाएको स्पष्ट पारेका छन् ।

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै