prabhu

बैंकहरूको कालोसूचीमा पर्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित

काठमाडौं । पछिल्लो समय बैंकहरूले धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरूबीच चिन्ता बढेको छ । धितो मूल्य घट्दै गएकाले बैंकहरूले पुरानो मूल्याङ्कन र अहिलेको मूल्य फरक देखाउँदै कारबाही गर्न थालेका छन् । नेपाल भ्यालुयर्स एसोसिएसनका अनुसार यो प्रवृत्तिले मूल्याङ्कनकर्ताहरूको मनोबल गिराएको छ ।

एसोसिएसनका अध्यक्ष ई. सञ्जयकुमार महतोका अनुसार बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशन देखाउँदै मूल्याङ्कनकर्तालाई कालोसूचीमा राखेका छन् । खासगरी कोभिड-१९ को पूर्व र पछिल्लो मूल्याङ्कनमा दुई-तिहाइसम्म मूल्य नपुगेका कारण कारबाही गरिँदै आएको छ। महतो भन्छन्, ‘धितोको मूल्य घट्नु स्वाभाविक हो, तर मूल्याङ्कनकर्तालाई त्यसको दोषी ठहर गर्दै कालोसूचीमा राख्नु अनुचित हो।’

हाल देशभर धितोको औसत मूल्य ३० प्रतिशतभन्दा बढीले घटेको सन्दर्भमा मूल्याङ्कनकर्ताहरूलाई दोष दिनु अन्यायपूर्ण भएको उनीहरूको तर्क छ। केन्द्रीय सल्लाहकार ई. लक्ष्मणबाबु सेढाईले मूल्याङ्कनकर्ताहरू बैंक र ग्राहकबीच समन्वयकर्ताको भूमिकामा रहने भएकाले उनीहरूलाई कारबाही गर्नु समस्या उत्पन्न गर्ने बताए।

‘धितोका रूपमा राखिने जमिन, भवन, मेसिनरी सबैको मूल्य घटेको छ। यस्तोमा बैंकहरूले यथार्थ बुझेर निर्णय लिनुपर्छ,’ सेढाईले भने। उनले यसरी कारबाहीको डरले योग्य इञ्जिनियरहरू पलायन हुने अवस्था आउने चेतावनी दिए। कोशी प्रदेश अध्यक्ष ई. आमोदराज आचार्यका अनुसार बैंकहरूले कानुनी आधार नहुँदा पनि मूल्याङ्कनकर्तालाई कालोसूचीमा राखेर कारबाही गर्दै आएका छन् । पहिलो मूल्याङ्कनको तुलनामा पछिल्लो मूल्याङ्कन कम देखिएको आधारमा यस्तो कारबाही हुने गरेको हो।

चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकहरूले ऋणीका धितो कम मूल्याङ्कन गराएर लिलाममा लैजाने प्रवृत्तिले मूल्याङ्कनकर्तामाथि अन्याय गरिरहेको बताए । ‘हामी ऋणी र बैंक दुवैलाई सहजता दिने उद्देश्यले काम गर्छौं, तर बैंकहरूले उल्टै हाम्रो पेशालाई नै संकुचित बनाइरहेका छन्,’ उनले भने।

त्यस्तै, संस्थापक अध्यक्ष ई. ईश्वरीप्रसाद कौडालले मूल्याङ्कन सेवामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै चिन्ता व्यक्त गरे। नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले बजार मूल्य समयअनुसार घटबढ हुने भएकाले बैंकहरूले त्यसलाई बुझेर मात्रै मूल्याङ्कनको आकलन गर्नुपर्ने बताए । नेपाल भ्यालुयर्स एसोसिएसनमा हाल ४,००० भन्दा बढी इञ्जिनियर आबद्ध छन्, जो देशभर मूल्याङ्कन सेवामा कार्यरत छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै