prabhu

हजार रुपैयाँ दरका नयाँ नोटको अभाव चुलिँदै, दशैंमा नयाँ नोट नपाउने पक्का !

काठमाडौँ। नेपाली बजारमा एक हजार रुपैयाँ दरका नयाँ नोटको अभाव चुलिँदै गएको छ। आउँदो दशैंमा आम नेपाली जनतालाई नयाँ नोट नपाउने सम्भावना अत्यन्तै प्रबल बनाएको छ। नेपाल राष्ट्र बैंकले विगत केही वर्षदेखि हजार दरका नोट छपाई नगर्दा अहिले बजारमा प्रचलनमा रहेका नोट पुराना, जीर्ण र प्रयोग गर्न असहज हुने अवस्थामा पुगेका छन्।

राष्ट्र बैंकले सामान्यतया हरेक पटक ३ वर्षलाई पुग्ने गरी नोट छपाई गर्ने गरे पनि २०७६ सालयता एक हजार दरका नयाँ नोट नछापिएकाले अब ती नोटको अभाव गहिरिंदै गएको हो। राष्ट्र बैंकले नोट छपाईका लागि छनोट गरेको कम्पनीसँग पछिल्लो पटक सम्झौता रद्द गरेपछि नयाँ प्रक्रिया अघि बढ्न नसकेको हो। यसले गर्दा नयाँ नोट छपाईको काम रोकिएको छ र त्यसको सीधा असर बजारमा देखिन थालेको छ।

हाल बजारमा ७ वर्ष पुराना हजार दरका नोट मात्र प्रचलनमा छन्, जुन समयक्रमसँगै जीर्ण हुँदै गएका छन्। यस्ता नोटहरू दैनिक कारोबारमा असहज बन्दै गएका छन्, जसले नागरिकलाई पनि कठिनाइ थपिदिएको छ। अझ विशेष पर्वजस्तै दशैंको समयमा नेपाली जनताले परम्पराअनुसार नयाँ नोट प्रयोग गर्न रुचाउने गरेका छन्। तर, पछिल्ला वर्षहरूमा त्यो परम्परा पनि संकटमा परेको छ। अघिल्लो साल पनि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न असफल भएको थियो। यसपालि पनि त्यही दोहोरिने संकेत स्पष्ट देखिएको छ। राष्ट्र बैंकले एकातर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको भए पनि, नोट छपाई जस्तो आधारभूत काममा चुक्नुले संस्थाको व्यवस्थापकीय कमजोरी प्रस्ट्याउने गरेको छ।

वित्तीय प्रणालीमा नयाँ नोटको नियमित आपूर्ति नहुनु केवल जनतालाई मात्र होइन, बैंक तथा वित्तीय संस्थालाई पनि गाह्रो बनाउने परिस्थिति हो। बैंकहरूलाई चल्तीको कारोबार गर्न पर्याप्त र गुणस्तरीय नगद आवश्यक हुन्छ। तर, हजार दरका नोटको सर्टेजले साना कारोबारदेखि ठूला नगद कारोबारसम्म प्रभावित हुने सम्भावना बलियो छ।

राष्ट्र बैंकले यो समस्याको समाधानको लागि तत्काल कदम चाल्ने संकेत दिएको छैन। प्रक्रिया पुन: सुरु गर्न कति समय लाग्नेछ भन्ने पनि स्पष्ट छैन। यति हुँदा हुँदै, बजारमा नयाँ नोटको आपूर्ति नहुँदा कालोबजारी, अवैध सटहीजस्ता गतिविधि पनि बढ्न सक्ने विज्ञहरूको चेतावनी छ। अबको अवस्था के हुने हो भन्ने यकिन छैन, तर तत्कालका लागि नेपाली जनताले दशैंजस्तो विशेष चाडपर्वमा नयाँ नोट प्रयोग गर्ने परम्पराबाट वञ्चित हुने अवस्था देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै