prabhu

भारतको केन्द्रीय बैंकले एकै आर्थिक वर्षमा ५७.५ टन सुन खरिद, सात वर्षयताकै दोस्रो ठूलो खरिद

काठमाडौं । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले गत आर्थिक वर्षमा ५७.५ टन सुन खरिद गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार मार्च २०२५ मा सकिएको आर्थिक वर्ष २०२४/२५ मा आरबीआईले गरेको यो खरिद पछिल्लो सात वर्षको अवधिमा दोस्रो ठूलो हो ।

आरबीआईको सुन खरिद विश्वभरका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाइरहेको प्रवृत्तिसँग मेल खान्छ । डलर अस्थिर वा कमजोर हुँदा सुन सुरक्षित सम्पत्ति मानिने भएकाले केन्द्रीय बैंकहरू यसतर्फ आकर्षित हुने गरेका छन् ।

आरबीआईले डिसेम्बर २०१७ देखि आफ्नो रिजर्भ व्यवस्थापन रणनीतिअन्तर्गत सुन खरिदमा सक्रियता देखाउँदै आएको छ। मार्च २०२५ सम्म आरबीआईको रिजर्भमा ८७९.६ टन सुन रहेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ८२२.१ टन थियो ।

यसअघि आरबीआईले आर्थिक वर्ष २०२१/२२ मा हालसम्मकै उच्च ६६ टन सुन खरिद गरेको थियो । त्यसपछिका वर्षहरूमा क्रमशः २०२२/२३ मा ३५ टन र २०२३/२४ मा २७ टन सुन खरिद गरेको थियो । सन् २०२४ नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन जितसँगै डलरमा देखिएको उच्च उतारचढावले सुनको आकर्षण झनै बढाएको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै