भारतीय बैंकले नेपालीलाई प्रत्यक्ष रुपैयाँ ऋण दिन सक्ने
काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले अब भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा व्यवसायिक संस्थालाई भारतीय रुपैयाँमै ऋण दिने व्यवस्था गरेको छ ।
यसअघि भारतीय बैंकमार्फत यस्तो सुविधा उपलब्ध थिएन । आरबीआईले बुधबार मौद्रिक नीति घोषणा गर्दै छिमेकी मुलुकलाई लक्षित गरेर यो नयाँ प्रावधान लागू गरेको हो ।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले उक्त निर्णयलाई भारतीय रुपैयाँ अन्तर्राष्ट्रियकरण गर्ने दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।
नेपालका लागि फाइदा
यो प्रावधानसँगै अब नेपाली व्यवसायी वा उद्योगपतिहरूले भारतीय बैंकमार्फत प्रत्यक्ष भारतीय रुपैयाँमा कर्जा लिन सक्नेछन् ।
-
सीमा पार व्यापार वा लगानी गर्दा अमेरिकी डलरमा मात्र निर्भर हुनुपर्ने अवस्था घट्नेछ ।
-
आयात–निर्यात भुक्तानीमा सहजता आउनेछ ।
-
क्षेत्रीय स्तरमै भारतीय रुपैयाँको प्रयोग विस्तार हुनेछ ।