काठमाडौं । सरोज भट्टराईलाई हटाएर योगेन्द्र न्यौपानेलाई ब्रान्ड एण्ड कर्पोरेट कम्युनिकेसन विभागको प्रमुख बनाईएका योगेन्द्र न्यौपानेलाई सो विभागबाट हटाइएको छ । ‘मिडिया मेनेजमेन्ट’मा सोचेजस्तो काम गर्न नसकेपछि न्यौपानेलाई बैंक व्यवस्थापनले हटाएको हो ।
न्यौपानेको ठाउँमा धिरेन्द्र वाग्लेलाई सो विभागको प्रमुख बनाईएको छ । ‘अहिलेलाई २ महिना काम हेर्ने, र आवश्यक थप निर्णय लिने’ मौखिक सर्तमा उनलाई सो विभागमा ल्याईएको बैंकमा सोही विभागमा काम गरिरहेका कर्मचारीले जानकारी दिए ।
अझ अचम्मको संयोग के परेको छ भने, वाग्ले सो विभागमा आएकै भोलिपल्टबाट बैंकका विभिन्न कान्डहरु बाहिर आईरहेका छन् । यसैबीच आजैमात्र पनि बैंक अध्यक्षको किर्ते काण्डको आरोपको खबर छताछुल्ल भईसकेको छ । यसले वाग्लेलाई मिडिया मेनेजमेन्टको काम पहिलो गाँसमै ढुंगा हुने देखिएको छ । बैंकका कम्पनी सचिव आफैँ यौन दुर्व्यवहारमा मुछिएको केस मिडियामा यसै पनि छताछुल्ल छ । न्यौपानेलाई सोही समाचार रोक्न नसकेको भन्दै हटाइएको चर्चासमेत बैंकमा छ ।
यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी रंजन खड्कालाई फोन गर्दा उनले फोन नै उठाएनन् । खड्का खासै मिडियासँग बोल्न नरुचाउने पात्रका रुपमा चिनिन्छन् । उनलाई पनि यो पद घाँडो भएको चर्चा बैंकभित्र छ ।