काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्णालीमा कर्जा सुविधा लिने एक जना मात्र भेटिएको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले भने, ‘कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर, कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैंकबाट ५ जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।’
लघुवित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उनले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको जनाएका छन् ।
कर्णालीमा वित्तीय साक्षरता आवश्यक रहेको बताउँदै गभर्नरले ऋण लिनेहरु कहिल्यै पीडित नहुने र ऋणीहरूलाई गुनासो राख्ने डेस्क समेत बनाइएको उल्लेख गरेका छन् । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उनले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको पनि बताएका छन् ।
प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै अधिकारीले बैकर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने जानकारी दिएका छन् ।