सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ।

निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। भाद्र २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो।

प्रतिष्ठित महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत रहेका उपाध्याय नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील एक अनुभवी व्यवसायी, कुशल रणनीतिकार तथा संस्थागत विकासका अभियन्ताका रूपमा परिचित हुन् । उनले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको नेतृत्वदायी भूमिकामा रही उनले हासिल गरेको लामो अनुभव र दक्षताले सिबिफिनको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

वर्तमान विषम् आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरूको समाधानका लागि उनको अनुभवी, समन्वयकारी र दूरदर्शी नेतृत्वमा सिबिफिनले आफ्ना उद्देश्य, नीतिगत प्राथमिकता र भूमिकालाई अझ प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि र दिगो विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्