काठमाडौँ। चिनियाँ बैंकको कर्जाको ब्याजदरमा उतार चढाव आउन सक्ने देखिएको छ। चिनियाँ बैंकहरूले अन्तरबैंक ब्याजदरलाई आधार बनाएर कर्जाको मूल्य निर्धारण गर्न थालेसँगै कर्जाको ब्याजदरमा थप उतार चढाव आउन सक्ने देखिएको हो ।
एस एन्ड पी ग्लोबल रेटिङ्सका अनुसार यस्तो अवस्थामा बैंकहरूले ब्याजदर जोखिम व्यवस्थापनका लागि आफ्नो आन्तरिक प्रणाली थप सुदृढ बनाउनुपर्नेछ।
एस एन्ड पीका अनुसार बलियो सम्पत्ति-दायित्व व्यवस्थापन क्षमता भएका बैंकहरूले कर्जाको मूल्य निर्धारणमा भइरहेको परिवर्तनलाई प्रभावकारी रूपमा अनुकूलन गर्न सक्नेछन्। यस्ता बैंकले प्रतिस्पर्धात्मक रूपमा आफ्नो स्थिति अझ बलियो बनाउन सक्ने सम्भावना छ।
तर, कमजोर जोखिम व्यवस्थापन क्षमता भएका बैंकहरूका लागि भने नयाँ ब्याजदर प्रणालीसँग तालमेल मिलाउन चुनौती हुन सक्ने रेटिङ एजेन्सीले जनाएको छ।
विशेषगरी रेपो दरमा आधारित कर्जाले बैंकको कर्जाको ब्याजदरमा बढी उतारचढाव ल्याउन सक्ने एस एन्ड पीको निष्कर्ष छ। यसका कारण वाणिज्य बैंकहरूले आन्तरिक कर्जा मूल्य निर्धारण प्रणाली सुधार गर्नुका साथै ब्याजदर जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेछ।
यद्यपि, अन्तरबैंक ब्याजदरलाई आधार बनाएर कर्जाको मूल्य निर्धारण गर्दा बैंकहरूलाई नयाँ कर्जा उत्पादन विकास गर्न तथा ब्याजदर निर्धारणमा थप लचकता प्राप्त हुने एस एन्ड पीले जनाएको छ।
कर्जाको मूल्य निर्धारणमा भइरहेको यो परिवर्तन चिनियाँ नीति निर्माताहरूले मौद्रिक नीतिको प्रभाव बैंकिङ प्रणालीमार्फत अझ प्रभावकारी र कुशल रूपमा प्रवाह गराउने प्रयासकै एक हिस्सा हो।
एस एन्ड पी ग्लोबल रेटिङ्स विश्वको अग्रणी स्वतन्त्र क्रेडिट रेटिङ प्रदायक हो।

