काठमाडौँ। विवादै विवादले गिजोलिएको प्रभु बैंकको फेरी अर्को विवाद सतहमा आएको छ । बैंकका सञ्चालक बिर्खबहादुर बस्नेत गैरकानुनी रुपमा फरक-फरक समूहको प्रतिनिधित्व गर्दै लगातार दुई कार्यकाल सञ्चालक बनेको विषय बाहिर आएको हो ।
नियामक नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले फरक समूहको प्रतिनिधित्व गर्दै सञ्चालक बन्न पाउने व्यवस्था गरे पनि बस्नेत सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक भई सो कार्यकाल सकिएपछि संस्थापक समूहबाट पुन: सञ्चालक बनेको पाइएको हो ।
यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न घोटाला प्रकरणमा प्रभु बैंकका उच्च अधिकारीहरुसँग बयान लिएको पाइएको छ । विभिन्न घोटाला प्रकरणमा बैंकका अन्य उच्च अधिकारीहरुको बयान लिईएको पाइएको हो ।
बैंकमा भएका थुप्रै घोटाला प्रकरणमध्ये एक प्रकरणमा बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्त हाल प्रहरी हिरासतमा छिन् भने बैंकका तत्कालीन डेपुटी सीइओसहितका पूर्व कर्मचारीहरु फरार छन् ।
त्यस्तै, प्रभु बैंकका चिफ बिजनेश अफिसर रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरिएको पाइएको छ । बैंकमा डेपुटी सीइओ बन्ने पर्खाईमा रहेका उनलाई बाहिरबाट डेपुटी सीइओ ल्याउन बाधक बन्ने देखेपछि बैंकले उल्टै धनगढी सरुवा गरिदिएको हो ।
बैंकका उच्च अधिकारी यसरी प्रदेशमा सरुवा भएको यो पछिल्लो दुर्लभ घटना हो । यसअघि एनआईसी एशिया बैंकले पनि डेपुटी सीइओ सुधिर पाण्डेलाई मधेश प्रदेश पठाएपछि उनले बैंकबाटै राजिनामा दिएका थिए । बैंकका केहि लिलामी प्रकरणमा मतभेद भएपछि श्रेष्ठलाई सरुवा गरिएको आरोपसेमत बैंकमाथि लागेको छ ।
बैंकले भने यस विषयमा कुनै प्रतिक्रिया नै दिन मानिरहेको छैन ।


