काठमाडौँ । एनआईसी एशिया बैंकको सीइओ पदबाट रोशन न्यौपानेले राजिनामा दिएपछि केहि कर्मचारीहरुले आफुहरु खुसी भएको भन्दै खुसी साटेका छन् । यसैबीच एक कर्मचारीले बैंकिङ संसार डटकमलाई पाठक पत्र पठाउँदै बैंकभित्रका कर्मचारीका पीडा अभिव्यक्त गरेका छन् । उनले न्यौपानले जागिर छोडेपछि कर्मचारीले पार्टी गरेकोसमेत दाबी गरेका छन् । हेर्नुहोस्, उनले हामीलाई पठाएको पत्र:
अर्बौँ नाफा कमाउने प्रतिस्पर्धामा अरु बैंकहरू टर्बो स्पीडमा दौडिरहेका बेला, एनआइसी एशिया भने आफ्नै कप्तानको ‘अद्वितीय’ स्टेयरिङमा करोडको दलदलमा फसिरहेको थियो। लाज, इज्जत, उत्तरदायित्व-यी शब्दहरू त सिईओको शब्दकोशबाट धेरै अघिनै हराइसकेका थिए। बैंकको स्वास्थ्यभन्दा व्यक्तिगत सम्पत्ति, व्यापार र प्रचारबाजीलाई प्राथमिकता दिनु नै यिनको ब्रान्ड आइडेन्टिटी थियो।
आज यिनले राजीनामा बुझाएपछि कर्मचारीहरू अत्यन्तै खुसी छन्। सायद जागिर खाएदेखि आजजस्तो खुसी पहिलो पटक भएका होलान्। कतिले त आजै दशैं मनाएका छन्। आफ्नै प्रदेशको मान्छे सन्तोष राठी कार्यकारी प्रमुख (का.मु. सिइओ) भएपछि मासु-भात खाने जमात नै बनेको छ।
बाहाना जे बनाए पनि यथार्थ फरक छ-कर्मचारीको आँशुले पोलेको हो। यति सम्म दुख दिएका छन् कि साउनमा आएको भ्याकेंसीको रिजल्ट अझै आएको छैन। दिन सबैको आउँछ-आज कर्मचारीको आयो।
कहिल्यै peer bank भनेर नबिलसँग तुलना गर्ने तर व्यवहारमा सहकारीभन्दा पनि तल झर्ने कार्यशैली देखाउने-यही हो यिनको ‘लीडरशिप’। न ग्राहकले राम्रो मान्छन्, न कर्मचारीले। अरु बैंक अर्बौँ नाफामा हुँदा आफ्नो बैंक करोडमै अड्किँदा पनि यिनलाई ‘स्टाफले काम नगरेको’ जस्तो लाग्छ, तर नेतृत्व असफल भयो, रणनीति असफल भयो भन्ने बुझ्दैनन्। कर्मचारीलाई पेल्दा, सरुवा गर्दा, अपमान गर्दा बैंक उक्लिन्छ भन्ने भ्रममै यिनको संसार चलेको हो।
नेपालमा मारवाडी समुदायको लगानी डुबाउने छुट्टै अध्याय नै यिनले लेखेका छन्। नियामकले कारबाही गर्न लागेको कुरा राष्ट्र बैंकबाट थाहा पाउने अनि “म मात्र किन? चेयरम्यान पनि तानिनुपर्छ” भनेर लबिङ गर्ने-यही हो यिनको ‘सिस्टम चलाउने’ तरिका।
कार्यकालभरि यिनले माया गर्ने भनेको सुमन थपलिया मात्र हुन्। उनले गैरकानुनी तवरले पदोन्नति पाए। यिनलाई रिटेल लेन्डिङको जिम्मेवारी दिइएको छ तर कुनै टार्गेट छैन। नचाहिने रणनीति बनाउने अनि जबर्जस्ती लाद्ने-तर आफूले एउटा सिन्को भाँच्न पनि नपर्ने।
सेयर लोन सुरु भयो-रिटेल लेन्डिङ हेडको नाताले कति अनबोर्ड गराए? होम लोन ल्यायो-कति ल्याए ? तलब खाने र चापलुसी गर्ने बाहेक केही नगर्ने। सबैको सरुवा हुँदा पनि यिनले थानकोट पार गर्नै परेन।
न्यौपाने त बैंक डुबाउनेमा यस्तो स्तरमा पुगे कि सोच्नासाथ लाज लाग्छ। यसमा साथ दिने कोर टिम सबै सम्पन्न भइसके। हाम्रो प्रदेशमा आउँदा शाखामा नआएर होटलमै बिल बनाए, सबैलाई होटलमा राखेर गाली गरे अनि फर्किए।
बैंकको खर्चमा निजी लगानी गर्ने प्रसङ्गमा पनि यिनकै नाम आउँछ। व्यवसायीसँग हाइड्रोपावरदेखि होटलसम्म अर्बौँ लगानी। छोराको वर्तबन्धमा ५-६ करोड खर्चेर ‘ग्रान्ड शो’ आयोजना-जहाँ नेतादेखि राष्ट्र बैंकका कार्यकारी निर्देशकसम्मको उपस्थिति। तर स्रोतको खोजी कसले गर्ने? साहस कसैले गरेन। श्रीमती, भतिजा, भान्जाको नाममा अकुत सम्पत्ति र सेयर खरिद।
यिनलाई न संस्थाको माया छ, न कर्मचारीको-मात्र व्यक्तिगत स्वार्थ। वर्षमा ११ जनाको प्रमोसन निकाल्ने, त्यो पनि स्वकीय सचिव सुमन थपलियाकै लागि।
युनियनले बेलाबेलामा दबाब नदिएको भए कर्मचारीका लागि यो बैंक चिहान नै बन्थ्यो। युनियनले धेरै राम्रो गरेको भन्ने हैन तर जे जति भएको छ, उनीहरुकै दबाबमा। नत्र न्यौपानेले कर्मचारीलाई मान्छे नै गन्दैनथे। यसबीच, कर्मचारीको हालत-प्रमोशन बन्द, सुविधा काटिएको, मनोबल गिरेको। मधेसका कर्मचारीलाई कहिल्यै मान्छे गनेको रेकर्ड छैन। सुमन थपलिया जस्ता केहीलाई मात्र कर्मचारी ठान्ने, बाँकीलाई नम्बर मान्ने न्यौपानेको बानी।
कर्मचारीको ८०-८१ को वार्षिक कार्यसम्पादन मूल्यांकन अझै टुंगो लगाइएको छैन। ८१-८२ को त सोचिएकोसम्म छैन। कर्मचारीलाई दिन कहिल्यै जानेन न्यौपानेले, लिन मात्र जाने।
अर्को भनेको ‘Interest Rebate’ काण्ड! ऋणको सावा रकममै रिबेट दिएको देखाउने अनि पछि खाताबाट फिर्ता गराउने-चिनेको मान्छेको खातामा। यस्ता अनियमितता त असंख्य छन्। अर्बौँको भुक्तानी-तर सामान छैन, वा बिल मात्र छ सामान छैन।
यसैले कर्मचारीहरू भित्रभित्रै एउटा सपना देख्थे-सिईओले बैंक छोड्ने दिनको विदाई पार्टी। त्यो सपना आज पूरा भएको छ। लखपतिबाट अर्बपति बन्ने सपना न्यौपानेले पुरा गरे, तर बैंकलाई सडकमा ल्याउने उपलब्धिको श्रेय पनि यिनकै नाममा छ।
(माथि उल्लेखित बस्तु पाठकका निजी बिचार हुन् ।-सम्पादक)