कृषि विकास बैंकले पूर्व कर्मचारीलाई १ लाखसम्मको सामूहिक स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीहरूका लागि सामूहिक स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले एक सूचना जारी गर्दै पूर्व कर्मचारीका लागि एक वर्ष अवधिको रु. १ लाखसम्मको सामूहिक स्वास्थ्य उपचार बीमा गर्न लागिएको जनाएको छ।

बैंकका अनुसार बीमा सुविधा लिन इच्छुक पूर्व कर्मचारीले आवश्यक प्रक्रिया पूरा गरी २०८३ असार १९ गतेभित्र बैंकको जनशक्ति व्यवस्थापन विभागमा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ।

बैंकमा कम्तीमा १५ वर्ष स्थायी, अस्थायी वा मासिक पारिश्रमिकमा करार सेवामा काम गरेका तथा ७० वर्ष ननाघेका पूर्व कर्मचारी यस सुविधाका लागि योग्य हुनेछन्। सम्बन्धित पूर्व कर्मचारीले आफू बसोबास गरेको वा पायक पर्ने बैंकको नजिकको कार्यालयमा निवेदन दिन सक्नेछन्।

यद्यपि, कर्मचारी सेवा विनियमावलीअनुसार सजायस्वरूप बर्खास्त भएका वा अदालतबाट दोषी ठहर भई सजाय पाएका पूर्व कर्मचारीले यो सुविधा प्राप्त गर्न सक्ने छैनन्।निवेदनसँगै बैंकले जारी गरेको पूर्व कर्मचारी परिचयपत्र वा पूर्व कर्मचारी प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकताको फोटोकपी पेश गर्नुपर्ने बैंकले जनाएको छ।

कृषि विकास बैंकले आफ्ना योग्य पूर्व कर्मचारीलाई स्वास्थ्य सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो सुविधा कार्यान्वयन गर्न लागेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्