काठमाडौँ। ‘इनसाइड डच बैंक’ नाम दिइएको खोजमूलक अनुसन्धानमा विश्वका ५० भन्दा बढी सञ्चारमाध्यमका २०० भन्दा बढी पत्रकार सहभागी भएका छन्। द फाइनान्सियल टाइम्स, डेर स्पिगल, ले मोन्ड, द न्यूयोर्क टाइम्स, जर्मन सार्वजनिक प्रसारक जेडडीएफ र अस्ट्रियाको डेर स्ट्यान्डर्डलगायत सञ्चारमाध्यम संलग्न अनुसन्धान दुई जना अज्ञात सूचनादाताले उपलब्ध गराएका लाखौँ इमेल तथा अन्य दस्तावेजमा आधारित छ।
अनुसन्धानले पछिल्ला २० वर्षमा डच बैंकले रुसका धनाढ्य व्यवसायी (ओलिगार्क), यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिन र अमेरिकी राष्ट्रपति बन्नुअघिका डोनाल्ड ट्रम्पसँग गरेको व्यावसायिक सम्बन्ध उजागर गरेको छ।
दक्षिण अफ्रिकी र भारतीय पत्रकारमार्फत विश्वका ५० भन्दा बढी सञ्चारमाध्यमसम्म पुर्याइएको उक्त दस्तावेजले बैंकले अन्तर्राष्ट्रिय प्रतिबन्ध, सम्पत्ति शुद्धीकरणविरुद्धका कानुन तथा आफ्नै आन्तरिक नियम पालना गर्नुभन्दा कतिपय अवस्थामा व्यावसायिक स्वार्थलाई प्राथमिकता दिएको देखाएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा जर्मन प्रहरीले यसै वर्ष जनवरीमा बैंकको फ्र्याङ्कफर्टस्थित मुख्यालय र बर्लिन कार्यालयमा छापा मारेको थियो।
प्रतिवेदनहरूका अनुसार, सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही समय अघि, नियामक तथा सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) सम्बन्धी जोखिमहरूबारे चेतावनी दिइएको भए तापनि, ड्युचे बैंकले रुसी धनाढ्यहरू (ओलिगार्कहरू) लाई आकर्षित गर्ने र रुसमा आफ्नो कारोबार विस्तार गर्ने प्रयास गरेको थियो। युक्रेनमा रुसी आक्रमणपछि ड्युचे बैंकले रुसी बजारबाट बाहिरिने घोषणा गरे पनि, उक्त प्रक्रिया अझै पूर्ण नभएको कुरा पनि प्रतिवेदनहरूमा उल्लेख छ।
गत वर्षसम्म ड्युचे बैंकले रुसमा १६२ जनालाई रोजगारी दिइरहेको थियो र त्यहाँको सहायक कम्पनीले कर अघि ६ करोड १० लाख युरो (६ करोड ७० लाख अमेरिकी डलर) नाफा कमाएको थियो। यी खुलासाहरूले जर्मनीको सबैभन्दा ठूलो बैंकभित्रको आन्तरिक नियन्त्रण र कार्यशैलीमाथि प्रश्न उठाएका छन्। साथै, बैंकको अवस्था सुधार्न प्रमुख कार्यकारी अधिकृत क्रिस्चियन सेविङले गरिरहेका प्रयासहरूबारे पनि पुन: प्रश्नहरू उब्जिएका छन्।



