बेलायतमा तेस्रो किताब जात्रा शुक्रबार, यसपटक झन् भव्य हुने

काठमाडौं । बेलायतमा आयोजना हुन लागेको तेस्रो ‘किताब जात्रा’को सम्पूर्ण तयारी पूरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको छ। आगामी अगस्ट २१ गते शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा पुस्तक प्रदर्शनीलगायतका कार्यक्रम हुनेछन्।

किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार बेलायतमा रहेका नेपालीको साहित्य, संस्कृति, जीवनशैली र व्यावसायिक क्षेत्रलाई समेटेर करिब चार घण्टाको कार्यक्रम आयोजना गर्न लागिएको हो। उनले बेलायतमा रहेका नेपाली लेखक, संस्कृतिकर्मी तथा उद्यमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

किताब जात्रामा सहभागी हुन वरिष्ठ पत्रकार टीकाराम यात्री र लेखक रवीन्द्र समीरलगायत नेपालबाट केही साहित्यकार तथा स्रष्टा बेलायत पुगिसकेका छन्। कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

किताब जात्रा बेलायत संस्करणका आयोजक समिति सचिव भुवन भण्डारीले यसपटकको कार्यक्रम विगतका संस्करणभन्दा अझ भव्य र सभ्य ढंगले सम्पन्न हुने बताएका छन्। उनका अनुसार कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरिएको छ।

अर्थखबर डटकमका प्रधान सम्पादकसमेत रहेका किताब जात्रा बेलायत संस्करणका आयोजक समिति सचिव भुवन भण्डारीले किताब यात्रासँगको सहकार्यमा बेलायत संस्करण हरेक वर्ष आयोजना गर्दै आएको बताएका छन्।

वि.सं. २०७५ मा नेपालबाट सुरु भएको किताब जात्रा भारत र अमेरिकामा समेत आयोजना भइसकेको छ। बेलायतमा भने सन् २०२३ मा पहिलोपटक किताब जात्रा आयोजना गरिएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्