काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित परिवारका लागि थप सहयोग गरेको छ। बैंकले बाढीबाट प्रभावित परिवारका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको हो ।
करिब २०० परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा र पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा बैंकले हस्तान्तरण गरेको हो।
बैंकले यसअघि पनि बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो। विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै कृषि विकास बैंकले ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, बैंकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।



