काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स–२०२६ अन्तर्गत ‘बिजनेस मोडल इनोभेसन’ विधामा ‘प्लाटिनम अवार्ड’ प्राप्त गरेको छ।
बैंकले ग्राहक पहिचान तथा नियामकीय अनुपालन (केवाईसी) प्रक्रियालाई अझ प्रभावकारी, सुरक्षित र सहज बनाउने नवीन केवाईसी कार्यप्रवाह प्रणाली (वर्कफ्लो सिस्टम) विकास गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।
इन्फोसिस फिन्याकलले हरेक वर्ष आयोजना गर्ने यस अवार्डमार्फत विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र रूपान्तरणका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासलाई सम्मान गरिन्छ। यस वर्ष नौ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए। तीमध्ये कुमारी बैंकले आफ्नो उत्कृष्ट डिजिटल अनुपालन प्रणालीका आधारमा प्लाटिनम अवार्ड जित्न सफल भएको हो।
बैंकका अनुसार आधुनिक केवाईसी कार्यप्रवाह प्रणालीले ग्राहक प्रमाणीकरण प्रक्रियालाई छिटो, सुरक्षित र थप प्रभावकारी बनाएको छ। साथै, यसले नियामकीय मापदण्डको पूर्ण पालना सुनिश्चित गर्दै सेवा प्रवाहलाई अझ विश्वसनीय बनाएको बैंकको दाबी छ।
बैंकले यो अन्तर्राष्ट्रिय सम्मानले सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। साथै, आगामी दिनमा पनि डिजिटल नवप्रवर्तन र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।


