काठमाडौँ। नबिल बैंकले हालै विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा प्रकाशित आफ्ना ग्राहकको गोपनीयता भंग भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले ती दाबीहरू आधारहीन, भ्रामक र प्रमाणविहीन रहेको स्पष्ट पारेको छ।
बैंकका अनुसार ग्राहकहरूको व्यक्तिगत विवरण तथा कारोबारसम्बन्धी जानकारी अत्यन्त सुरक्षित रूपमा बैंकको प्रणालीमा सुरक्षित राखिन्छ। ग्राहकको स्पष्ट सहमति वा कानूनी प्रक्रियाबाहेक कुनै पनि व्यक्ति, संस्था वा माध्यमलाई यस्तो जानकारी प्रदान नगरिने नीति कडाइका साथ लागू गरिएको छ।
केही दिनअघि प्रकाशित एक समाचारमा बैंक तथा अन्य वित्तीय संस्थाबाट ग्राहकको विवरण बाहिरिएको भन्ने आशय व्यक्त गरिएको थियो। यस विषयमा बैंकले उक्त समाचारलाई गलत रूपमा प्रस्तुत गरिएको बताउँदै यस्ता सूचनाले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको उल्लेख गरेको छ।
नाबिल बैंकले नेपाल राष्ट्र बैंकको नियम, कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सूचना सुरक्षा, गोपनीयता र आन्तरिक सुशासनका सबै प्रावधानहरूको पूर्ण पालना गर्दै आएको जनाएको छ। बैंकले आफ्ना सबै प्रणालीहरू उच्चस्तरीय सुरक्षा मापदण्डअनुसार सञ्चालन गरिरहेको पनि जानकारी दिएको छ।
साथै, बैंकले आम ग्राहक तथा सरोकारवालाहरूलाई अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै, कुनै पनि शंका वा जिज्ञासा भएमा बैंकको आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको छ।
बैंकले भविष्यमा पनि ग्राहकको गोपनीयता र सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।



