काठमाडौँ। सिद्धार्थ बैंकले हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरण हस्तान्तरण गरेको छ। सर्लाहीको हरिवन नगरपालिकास्थित हरिवन नगर अस्पताललाई बैंकले विभिन्न प्रसूति उपकरण संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको हो ।
बैंकका मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले सहयोगस्वरुप उपकरण अस्पताललाई हस्तान्तरण गरेका थिए। बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलइडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरण १-१ थान हस्तान्तरण गरेको हो।
हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच पुर्याउने तथा आमा र नवजात शिशुका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो।
बैंकले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ। कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय, हरिवनका मेयर रमेश बुढाथोकीलगायत स्थानीय उपस्थित थिए।


