DISH HOME

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्य नवीकरण

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम निरन्तर सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ। संकाय कार्यालयमा सम्पन्न सम्झौतामा नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवाली र व्यवस्थापन संकायका डिन प्रा। डा। महानन्द चालिसेले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै नबिल एसएसई कार्यक्रम सन् २०२८ सम्म सञ्चालन हुनेछ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित विगत चार वर्षदेखि ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सीईओ ज्ञवालीका अनुसार सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाएको छ र यसले सामाजिक उद्यमशीलतालाई व्यापक रूपमा प्रोत्साहित गरेको छ। उनले नबिल बैंक समुदायमा सकारात्मक परिवर्तन ल्याउने पहलमा निरन्तर प्रतिवद्ध रहेको बताए।

डिन प्रा। डा। चालिसेले व्यवस्थापन संकायले उद्यमशीलता–केन्द्रित र व्यावहारिक शिक्षातर्फ रूपान्तरण गर्ने यात्रामा नबिल एसएसई प्रभावकारी मोडेल बनेको उल्लेख गरे। उनका अनुसार उद्योग–शैक्षिक साझेदारीले अनुसन्धान, अध्ययन र समुदाय–आधारित कार्यक्रमहरूमा गहिरो प्रभाव पार्दै आएको छ।

नबिल एसएसई कार्यक्रम सामाजिक उद्यमीहरू विकास र सशक्तीकरण गर्न लक्षित छ। यसअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ गरी दुई कोर्स सञ्चालनमा छन्। छ महिने फेलोसिप कार्यक्रम नवप्रवर्तनमा काम गरिरहेका सामाजिक उद्यमीलाई केन्द्रित छ, जसमा सहभागीले ६ महिनाको प्रशिक्षण र एक वर्षसम्म मेन्टरसिपसँगै नेटवर्क तथा वित्तीय पहुँच पाउँछन्।

बिगत चार वर्षमा ९६ उद्यमी फेलोसिपको हिस्सा बनेका छन् र उनीहरूले ६२ वटा सामाजिक उद्यम स्थापना गरिसकेका छन्, जसबाट १४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष लाभ पाएका छन्। सर्टिफिकेट कोर्स सातै प्रदेशमा सञ्चालन हुँदै आएको छ। तीन महिने यो कार्यक्रम विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुन्छ। हालसम्म १,०६९ उद्यमी यो कोर्सबाट लाभान्वित भइसकेका छन्। उनीहरूले १३१ उद्यम स्थापना गरी २,६०० भन्दा बढीलाई रोजगारी उपलब्ध गराएका छन्।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तन जस्ता क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको छ। बैंकका अनुसार यी पहलहरूले समुदायमा ठोस सकारात्मक प्रभाव पारिरहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै