DISH HOME

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, तीन महिनामा ४३ अर्ब २४ करोडबढी गैरबैंकिङ सम्पत्ति थुप्रियो !

काठमाडौँ। वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासिक (साउन-असोज) तथ्यांकअनुसार १९ वाणिज्य बैंकमा जम्मा ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ थियो। जस अनुसार एक वर्षको अवधिमा यस्तो सम्पत्ति ३६.२७ प्रतिशतले वृद्धि भएको छ।

वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने गैरबैंकिङ सम्पत्ति शून्य रहेको पाइएको छ। चालु वर्षको असोजसम्म पुग्दा समग्र वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ। खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्दो क्रममा रहेको छ ।

गत वर्षको तुलनामा यस अवधिमा १६ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ३ बैंकको घटेको छ। प्राइम बैंक र नेपाल एसबीआई बैंकमा गैरबैंकिङ सम्पत्ति १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुमारी बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकमा भने यस प्रकारको सम्पत्ति कम भएको छ। सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा छ, जसमा ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ बराबरको सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब १२ करोड ८७ लाख रुपैयाँ थियो, जसअनुसार १८.०८ प्रतिशत वृद्धि देखिन्छ।

दोस्रो सर्वाधिक गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा (५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ) र तेस्रोमा एनआईसी एशिया बैंकमा (४ अर्ब ४६ करोड ४ लाख रुपैयाँ) रहेको छ। यी दुवै बैंकमा गैरबैंकिङ सम्पत्ति क्रमश: ८०.२८ प्रतिशत र ५.८२ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा २५ करोड ६७ लाख रुपैयाँबराबरको सम्पत्ति मात्र रहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै