काठमाडौँ। बैंकको ऋण दुरुपयोग प्रकरणमा अनिल अम्बानीको ५० अर्ब बराबरको सम्पत्ति रोक्का भएको छ । भारतका सबैभन्दा धनी मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि लागेको आरोपउपर मुद्धा चलिरहेका बेला सम्पत्ति रोक्का भएको हो ।
भारतको आर्थिक अपराध अनुसन्धान निकाय (ईडी) ले अनिल अम्बानीको रिलायन्स ग्रुपसँग सम्बन्धित ५० अर्ब १३ करोड रुपैयाँ (३५०.८७ मिलियन डलर) बराबरको सम्पत्ति रोक्का गरेको छ। यो कदम २०१७-२०१९ बीचको एक ऋण काण्डसँग जोडिएको हो।
जसमा रिलायन्स ग्रुपले एक बैंकबाट ५६८.८६ मिलियन डलर ऋण लिएको थियो। ईडीको अनुसन्धानले देखाएको छ कि उक्त ऋण रकम शेल कम्पनीहरूमा सारिएको थियो र नियम उल्लंघन गर्दै रिलायन्स समूहका विभिन्न निकायहरूले घूस दिएर ऋण स्वीकृत गराएका थिए।
यस घटनामा सार्वजनिक रकमको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।
ईडीले मुम्बई, दिल्ली र चेन्नईमा रहेका अनिल अम्बानीका सम्पत्ति रोक्का गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ।


