काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो महिना भदौसम्ममा साढे १६ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।
अघिल्लो वर्ष २०८१-८२ को भदौसम्ममा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ६.१८ प्रतिशतले घटेको छ।
यस अवधीमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ भने वृद्धिदरका हिसाबले सिद्धार्थ बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको भदौसम्मको तुलनामा चालु वर्षको भदौसम्ममा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ। भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको भदौसम्मको तुलनामा ३.९९ प्रतिशतले बढी हो।
दोस्रोमा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्ममा बैंकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ, कुमारीले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ७.३९ प्रतिशत, एनएमबि बैंकले ३२.१४ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ र सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यता भदौसम्ममा प्रभु बैंकले ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले ५८ करोड ९८ लाख रपैयाँ, सिजिन्स बैंकले ५५ करोड ७६ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकले ३७ करोड ७ लाख रपैयाँ र नेपाल एसबीआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन्।