काठमाडौँ। एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले यसपालि साँच्चिकै राजिनामा दिएका छन् । हामीले साँच्चिकै राजिनामा दिएका छन् भन्नुको अर्थ उनले राजिनामा दिएको हल्ला यसअघि पनि पटक पटक आउने गरेको थियो । सम्भवत नेपाली बैंकका सिइओले राजिनामा दिएको खबर यति धेरै पटक सार्वजनिक भएको तर होइन रहेछ, होइन रहेछ भनेको बैंक एनआईसी एशिया नै हुनुपर्छ ।
कतिपटक बोर्डले उनलाई राजिनामा दिन भन्दा उनले दिएनन् । कतिपटक उनले राजिनामा दिन्छु भन्दा ‘यत्रो बिग्रेको फाइल कसले मिलाउँछ ?’ भनेर बोर्डले दिएन । तर यसपालि रोशन न्यौपानेले साँच्चै राजिनामा दिएर, र बोर्डले साँच्चै अप्रुभ गरिदियो । पर्खनुस्, यो राजिनामा दिनु र स्वीकृत गरिनुको पछाडि एउटा गम्भीर विषय छ ।
यो विषयलाई जिज्ञासा र जवाफमा बुझौँ ।
पटक पटक राजिनामाको कुरा मिडियामा आएपछि रोशन कुमार न्यौपानेलाई सहपाठीहरुले सोध्थे, राजिनामाको कुरा के हो ? जवाफमा न्यौपाने भन्थे, अव बाँकी १ कार्यकाल छ, कुनै हालतमा म बैंक छोड्दिन । तर, यसपालि उनले किन बैंक छोडे त ? यो प्रश्नको पछाडि नेपाल राष्ट्र बैंकले उनलाई गर्न खोजेको कारवाही रहेछ ।
नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बुधबार विहानै फोन गर्छन्- ‘तपाईंलाई कारवाही किन नगर्ने भनेर १५ दिनको स्पष्टिकरण सोधिदैछ । निर्णय भइसकेको छ, तपाईं बैंकसम्म पत्र आउँदै होला । यसपालीको स्पष्टिकरण पत्र केहि विशेष छ । तपाईंलाई आर्थिक जरिवाना गराउने कुरा छ । यस्तो भयो भने तपाईंलाई फेरी पनि अर्को बैंकको सिइओ हुन कानुनी बाधा पर्न सक्छ ।’
गम्भीर सूचना राष्ट्र बैंककै अधिकारीबाट आएपछि रोशन न्यौपानेले सोधे- ‘अब के गरौँ त ?’
जवाफमा राष्ट्र बैंकका ती अधिकारीले भने -‘थप ड्यामेज कन्ट्रोल गर्न, अहिलेलाई बैंक छोडिदिएको राम्रो ।’
सो पत्रमा अध्यक्ष तुलसी राम अग्रवाललाई पनि कारवाही गर्ने कुरा थियो । यो सूचना लिएर न्यौपाने अग्रवाल कहाँ पुगे । ‘कुरा कारवाहीसम्म नै पुगेछ । यसपालि केही गर्नुपर्यो ।’
दुवैले सल्लाह गरे । तत्काल न्यौपानेले राजिनामा दिने, सन्तोष राठीलाई कामु सिइओ बनाउने । त्यसपछि न्यौपानेले तुरुन्त राजिनामा दिए । बेलुकी बस्ने भनेको बैठक बेलुकी नभई बस्यो, र राजिनामा स्वीकृत भयो । बोर्डले बेलुकी कुरेन, कारण बेलुकीसम्म त राष्ट्र बैंकको पत्र नै आउनेवाला थियो ।
नभन्दै बैंकमा राष्ट्र बैंकको पत्र बेलुकी तिर आयो । जसमा सिइओ र अध्यक्षलाई आर्थिक जरिवाना किन नगराउने ? भन्ने प्रश्न गरिएको छ र स्पष्टिकरण सोधिएको छ । तर यति बेला बाठा सिइओ न्यौपानेले राजिनामा दिइसकेका थिए ।
राष्ट्र बैंकका ती अधिकारीले न्यौपानेलाई बेलैमा सूचना नदिएको भए उनी राष्ट्र बैंकको पत्रबाट भाग्न पनि पाउँदैनथे, र उनी कारवाहीमा पनि पर्थे । तर यसपालि यस्तै भयो । राष्ट्र बैंकबाटै सूचना लिक हुँदा बैंकको चतुर्याईले जित्यो ।
यता राष्ट्र बैंकले कारवाहीको तयारी गरेपछि बैंकका अध्यक्ष तुलसीराम अग्रवालकोसमेत पद धरापमा परेको छ । प्रचलित व्यवस्था अनुसार उनी कारवाहीमा परे भने उनको पद स्वत: जानेछ । राष्ट्र बैंकले दिएको निर्देशन पटक पटक पालना नगरेको भन्दै राष्ट्र बैंकले बैंकलाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणको म्याद यहि असोज १७ गतेसम्म मात्र छ ।
यस विषयमा बुझ्न न्यौपानेलाई सम्पर्क गर्दा सम्पर्क भएको छैन । बैंकका सूचना अधिकारीको फोन उठेको छैन । राष्ट्र बैंक स्रोत भने भन्छ- ‘न्यौपानेले त राजिनामा दिए, सकियो, राष्ट्र बैंकबाट सूचना चुहाउने ती को हुन् ? त्यसको अनुसन्धान भईरहेको छ ।’