काठमाडौँ । एनआईसी एशिया बैंकको कामु सीइओमा सन्तोष राठी नियुक्त भएका छन् । पूर्व सीइओ रोशन न्यौपानेले राजिनामा दिएपछि राठी बैंकको कामु सीइओमा नियुक्त भएका हुन् ।
यसअघि बैंकका तत्कालीन डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाइ बैंकबाट निकाल्न महत्वपूर्ण भूमिका खेलेको आरोप लागेका उनी यसअघि पनि बैंकको सीइओ बन्ने लाइनमा छन् भन्ने चर्चा थियो । अन्तत: सो चर्चा पुष्टी नजिक पुगेको छ । उनी हाल बैंकमा डेपुटी सीइओ थिए ।
कुनै बेला निकै राम्रो पर्फर्मेन्स गरिरहेको एनआईसी एशिया बैंक बाणिज्य बैंकहरुमध्ये नै सबैभन्दा कमजोर देखिएपछि बैंकका सीइओलाई राजिनामाको प्रेसर आएको थियो । पटक पटक सो प्रेसर थाम्ने प्रयास भए पनि केहि सीप नलाग्ने देखेपछि न्यौपानेले राजिनामा दिएका हुन् । बैंक उठ्नै नसक्नेगरी थला पार्ने काम भएको भन्दै तत्कालीन सीइओ रोशन कुमार न्यौपानेको संचालक समितिभित्रै विरोध भईरहेको थियो ।
यता, न्यौपानेले बैंक छोडेकै दिन बाणिज्य बैंकहरुमध्ये नाफाका हिसाबमा सबैभन्दा कमजोर बैंक सावित भएको एनआईसी एशिया बैंकको स्येअर भाउ ३ बर्ष यताकै सस्तो भएको छ । रोशन कुमार न्यौपानेले बैंकको सीइओ पद छोडेकै दिन बैंकको सेयर भाउ ३ बर्ष यताकै सस्तो भएको हो । बैंकको सेयर बिहीबार ३१४ रुपैयाँमा कारोबार भएको छ । एनआईसी एशिया बैंकका नवनियुक्त सीइओ सन्तोष राठीमाथि बैंकभित्र विभिन्न खाले गैरकानुनी काममा संलग्न भएको आरोप छ ।