काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँभन्दा बढी रकम लगानी गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम देशका वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ।
केन्द्रीय बैंकले आगामी साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ४५ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ८ करोड ५५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा राख्नेछ।
यो निक्षेप साउन ६ गतेदेखि सुरु भई आगामी वर्षको साउन ६ गतेसम्म ३६६ दिनको अवधिका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।