काठमाडौं । अब ग्राहकले प्रत्येक बैंकमा छुट्टै ‘केवाईसी’ (ग्राहक पहिचान विवरण) फर्म भर्नुपर्ने झन्झटबाट छुटकारा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ‘एक पटक अद्यावधिक, सबै ठाउँ प्रयोग’ सिद्धान्त अनुसार केवाईसी विवरण साझा गर्न सकिने प्रणाली विकास गरिने उल्लेख गरिएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकको केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ।’
अब ग्राहकले एकपटक कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा वित्तीय संस्थाले त्यही विवरण विद्युतीय माध्यमबाट उपयोग गर्न सक्नेछन्। यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग समायोजन गरिने बताइएको छ।
राष्ट्र बैंकले यसले केवाईसी प्रक्रिया थप सरल, सुरक्षित र विश्वासिलो बनाउने विश्वास व्यक्त गरेको छ। प्रणाली लागू भएपछि वित्तीय कारोबारमा पारदर्शिता, पहुँच र सेवा अनुभवमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।