बैंक खातामा फेरि बर्सियो पैसाको वर्षा: ११ महिनामा ५ खर्बभन्दा बढी थपियो निक्षेप

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ बराबरको निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो ११ महिनामा ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप थपिएको थियो।

राष्ट्र बैंकका अनुसार २०८२ सालको जेठ मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १२ प्रतिशतले बढेको छ। उक्त कुल निक्षेपमा चल्ती खाता ५.७ प्रतिशत, बचत खाता ३६.२ प्रतिशत र मुद्दती निक्षेप ५०.२ प्रतिशत रहेको देखिन्छ।

अघिल्लो वर्षको सोही अवधिमा यिनै खाताहरूको अनुपात क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मुद्दती निक्षेपको अंश केही घटेको र बचत खातामा उल्लेख्य वृद्धि भएको देखाउँछ।

त्यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा २०८२ जेठ मसान्तमा ३५.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६ प्रतिशत थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्