काठमाडौँ । बैंकका कर्मचारीहरुले लामो समय बैंकमा काम गर्दा पनि पैसा कमाउन नसकेको गुनासो गर्न थालेका छन् । वर्षौंसम्म बैंकमा काम गरे पनि उल्टै ऋणमा थालिएको, पैसा पनि नबचेको र बोनसले मात्र घर धान्ने काम भईरहेको गुनासो गर्न थालेका हुन् । सार्है आकर्षक भनेको जागिरमा पैसा नबचेपछि विदेश जानुको विकल्प नदेखेका कतिपय बैंकरहरुले यस्तो गुनासो गरेका हुन् ।
हालसालै ग्लोबल आईएमई बैंक छोडेर विदेश हानिन लागेका एक बैंकर बर्षौंसम्म बैंकमा काम गर्दा पनि आफ्नो जिन्दगी सेटल हुन गाह्रो भएको दाबी गर्छन् । सुरुमा शानको जागिर भनेर बैंकमा सेवा सुरु गरेको, पछि बैंकले दिईहाल्छ नि भनेर ऋण लिँदा थप ब्याजको भारमा परेको, र सोहि ब्याज तिर्ने नाममा जागिर छोड्न पनि नसक्दा अन्तिममा गएर पैसा बचाउन नसकेको ती बैंकरको दाबी छ । ‘बैंकको जागिर खाएर पैसा बचाउन नसकिने रहेछ भन्ने कुरा बुझ्न ९ बर्ष लाग्यो । उल्टै ऋणमा परियो । त्यहि ऋण तिर्ने अन्य स्रोत नहुँदा बैंकको जागिर पनि छोड्न सकिएन । अन्तिममजा विदेशिनुको विकल्प भएन ।’
उनका अनुसार उनीमात्र होइन, धेरै बैंकका धेरै कर्मचारीको हालत यस्तै खराब छ । बैंकको तलवले जिन्दगी चल्ने तर जिन्दगी सेटल नहुने कारण पछिल्लो समय धेरै बैंकरहरुले आफ्नो जागिर छोडेर विदेशिने, आफ्नै केहि काम सुरु गर्ने गरेको उनको भनाई छ । बेलैमा बैंकको जागिर छोडेर सानै भए पनि आफ्नो केहि गर्नसमेत उनले सुझाव दिएका छन् ।