काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै सात वर्षदेखि ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट नछपाउँदा बैंकहरू एटीएममा हाल्न मिल्ने ‘फिट नोट’ को अभावमा परेका छन्।
राष्ट्र बैंकले पछिल्लोपटक २०७६ सालमा १ हजार दरका ४० करोड थान र ५ सय दरका १९ करोड थान नोट छापेको थियो । त्यसयता नयाँ नोट नआएकाले एटीएममा प्रयोग हुने पुराना, च्यातिएका, र रंग फिका परेका नोट नै प्रयोग गर्नुपर्ने बाध्यता देखिएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार सात वर्ष पुराना झुत्रा नोटहरू एटीएममा राख्नुपर्दा मेसिनमा अड्किने, च्यातिने र बिग्रने समस्या बढेको छ। बैंकहरूले ग्राहकहरूले ल्याएका नोटमध्येबाट ‘एटीएम फिट’ छुट्याउने प्रयास गरे पनि नयाँ नोट नआउँदा विकल्प सीमित भएको संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले बताए।
यद्यपि राष्ट्र बैंकले अहिले ५ सय दरका नोट छपाइका लागि प्रक्रिया अघि बढाइसकेको छ भने १ हजार दरको नोट छपाइ प्रक्रिया पनि प्रारम्भ भइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार ५ सयका नोट छपाइका लागि ठेक्का पठाइसकिएको र १ हजारका लागि आन्तरिक प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
‘सम्भवतस् आगामी दशैं–तिहारमा यी दरका नोट बजारमा उपलब्ध हुन सक्छन्,’पण्डितले भने।
राष्ट्र बैंकले यसअघि भारतीय कम्पनीसँग १ हजार दरका नोट छपाउने सम्झौता रद्द गर्नुपरेको थियो । २०७६ साल असारमा बोलपत्र आह्वान गरी त्यसै वर्ष असोजमा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई ४० करोड थान १ हजार दरका नोट छपाउने जिम्मा दिइएको थियो। करिब ९१ लाख ९० हजार अमेरिकी डलर अर्थात् १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेर ती नोट छपाइएको थियो।
त्यसैगरी, २०७६ चैतमा छापिएका १९ करोड थान ५ सय दरका नोटहरू राष्ट्र बैंकले चाडपर्वको अवसरमा वितरण गरेको थियो। अहिले एटीएम तथा बैंक काउन्टरबाट पाइने अधिकांश १ हजार दरका नोट पनि त्यही समयमा छापिएका हुन्।
सामान्यतः नयाँ नोट बजारमा ल्याउन कम्तीमा एक वर्ष लाग्ने हुँदा राष्ट्र बैंकले जनसंख्या वृद्धि, आर्थिक गतिविधि तथा चाडपर्वका आधारमा नगदको माग अनुमान गरी नोट छपाउने निर्णय गर्ने गरेको छ।