काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (MSME) दिवसको अवसरमा ‘ग्लोबल हाटबजार’को २५औँ हप्ता भव्य रूपमा मनाएको छ।
बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई बजारसम्मको पहुँच दिलाउने उद्देश्यले संचालन गर्दै आएको हाटबजार कार्यक्रम अन्तर्गत, विशेष मेला काठमाडौंको कमलादी शाखामा आयोजना गरिएको हो। ‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रममा बैंकले आफ्ना ऋणी उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहयोग पुर्याएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाटबजार कार्यक्रमले देशको लघु तथा साना व्यवसाय क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको बताए। उनले हरित तथा दिगो अर्थतन्त्र निर्माणमा पनि यसले सहयोगी भूमिका खेलेको उल्लेख गरे।
हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली, स्थानीय स्रोतमा आधारित हस्तकलाका सामग्री, सजावटी बिरुवालगायत दुई दर्जनभन्दा बढी कृषक तथा व्यवसायीका उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए।
बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समयसापेक्ष योजनाहरू ल्याइरहेको छ। साथै, ग्लोबल आइएमई बैंक हालसम्म Global Finance’s Best Bank Award 2024 र Euromoney Award for Excellence 2024 मा नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मानित भइसकेको छ।
७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको ग्लोबल आइएमई बैंकसँग हाल ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउण्टर, ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र छन्।
बैंकले नेपालभित्र मात्र होइन, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, भारत, खाडी मुलुकहरू लगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।