काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवामा थप एक सुविधा थप्दै आफ्ना मुद्धती खाता भएका ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत कर्जा लिने सुविधा सुरु गरेको छ।
अब ग्राहकहरूले बैंकको मोबाइल एप प्रयोग गरेर नै मुद्धती खाता खोल्न मात्र होइन, सो खातामा रहेको रकमको आधारमा आवश्यक कर्जा पनि सहज रूपमा लिन सक्ने भएका छन्। आवेदन दिएको केहीबेरमै स्वीकृत कर्जा रकम खातामै जम्मा हुने व्यवस्था बैंकले गरेको छ।
यसअघि यस्तो कर्जा लिन ग्राहकले अनिवार्य रूपमा शाखामा पुगेर विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो। तर, अब यो सेवा एपमै उपलब्ध भएपछि शाखा जानुपर्ने झन्झट हट्ने र सेवाबाट प्राप्त अनुभव अझ सहज, सरल र छिटो हुने बैंकको विश्वास छ। ग्राहकले अब कुनै पनि समय र स्थानबाटै आफ्नो मुद्धती खाताबाट कर्जा लिन सक्ने भएका छन्, जसले गर्दा कार्यालय समय पर्खनुपर्ने वा शाखा पुग्नुपर्ने झन्झट हटेको छ।
कामना सेवा विकास बैंकले आफ्ना सेवा सुविधालाई थप प्रविधिमैत्री बनाउने उद्देश्यले पछिल्ला दिनहरूमा अनलाइनबाट खाता खोल्ने र मोबाइल एपमार्फत मुद्धती खाता खोल्ने सुविधा पनि सुरु गरिसकेको छ। डिजिटल माध्यममार्फत सेवा प्रवाहलाई सशक्त बनाउँदै लान बैंक प्रतिबद्ध रहेको छ।