काठमाडौं । पाकिस्तानी हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने भएको छ। हबिब बैंक हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक सेयर बेचेर बाहिरिन लागेको हो।
हिमालयन बैंकले आज एक सूचना जारी गर्दै बैंककै संस्थापक सेयरधनीहरुका लागि हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७. ४५ कित्ता सेयर बिक्रीमा राखेको हो। हिमालयन बैंकमा हबिब बैंकको करिब १३ प्रतिशत सेयर स्वामित्व रहेको छ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ। यसको अर्थ इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सक्नेछन्।
संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको हेरिटज प्लाजामा रहेको कानुन विभागमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।