काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले “आयकर ऐन २०५८” अनुसार ग्राहकको खाताबाट भएको कर कट्टीको विवरण आयकर प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले समयमै अद्यावधिक गर्न सूचित गरेको हो।
ग्राहकले आफ्नो प्यान बैंकको वेबसाइटमार्फत panupdate.nicasiabank.com वा एनआईसी एशिया मोबैंक एपको ‘PAN Update’ विकल्पमा गएर सजिलै अद्यावधिक गर्न सक्छन्। साथै, नजिकको जुनसुकै शाखामा गई भौतिक रूपमा पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्यान अद्यावधिक भएसँगै ग्राहकको नाममा कर कट्टीसम्बन्धी विवरण स्वतः ‘ई–टीडीएस’ प्रणालीमा सूचीकृत हुने भएकोले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनेछ। यसले प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने झन्झट पनि हट्ने बैंकको विश्वास छ।
बैंकले थप स्पष्ट पारेको छ कि यदि ग्राहकले समयमै प्यान अद्यावधिक नगरेमा ब्याजबाट काटिएको कर ‘ई–टीडीएस’ प्रणालीमा दाखिला नहुन सक्छ, र त्यसबाट उत्पन्न हुने समस्या तथा समायोजनका लागि बैंक जिम्मेवार हुने छैन।
यसैबीच, यदि कुनै ग्राहकले पहिल्यै प्यान जानकारी गराइसकेका भए तापनि कर विवरण समावेश नभएको भए, नजिकको शाखा वा ग्राहक सेवा केन्द्रको टोल–फ्री नम्बर १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।