काठमाडौँ । घर किन्न वा बनाउन चाहने ग्राहकका लागि नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ। बैंकिङ क्षेत्रमा हालसम्मकै सबैभन्दा सस्तो स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने यो योजनाअन्तर्गत ग्राहकले सहज रूपमा आफ्नो घरको सपना साकार पार्न सक्नेछन्।
नबिल बैंकले पहिलो पटक घर किन्न चाहने ग्राहकलाई किन्न लागिएको घरको मूल्यको ७० प्रतिशतसम्म र निर्माणका लागि लागतको १०० प्रतिशतसम्म कर्जा दिनेछ। कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँसम्म निर्धारण गरिएको छ।
ग्राहकले कर्जा लिन चाहेको घर नै धितो राखेर यो सुविधा प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत बैंकले ३० वर्षसम्मको अवधिका लागि कर्जा दिनेछ भने ७ वर्षसम्म स्थिर ब्याजदर मात्र ७.९९ प्रतिशत हुनेछ। बैंकका अनुसार यो दर हालको बैंकिङ बजारमा सबैभन्दा सस्तो हो।
७ वर्षपछि भने त्यतिबेला लागु हुने आधारदरमा प्रिमियम २.५ प्रतिशत थपेर नयाँ स्थिर ब्याजदर निर्धारण हुनेछ, जुन बाँकी अवधि भर कायम रहनेछ। नबिलले नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरेको यो अफर असार मसान्तसम्म लागू हुनेछ। देशभर रहेका नबिल बैंकका शाखाबाट यो सेवा लिन सकिनेछ।
योजनाअन्तर्गत पहिलो वर्षका लागि ग्राहकलाई २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड निःशुल्क प्रदान गरिनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि छिटो कर्जा उपलब्ध गराउने बैंकको प्रतिबद्धता छ।