विराटनगर । गृहमन्त्री रमेश लेखकले गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । मोरङमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले राष्ट्र बैंकभित्रको आन्तरिक समस्या गभर्नर नियुक्तिमा ढिलाइको कारण प्राविधिक कारण भएको बताएका छन् ।
‘गभर्नर नियुक्तिमा ढिलाइ प्राविधिक कारणले भएको हो । अब चाँडै सरकार नियुक्ति प्रक्रिया टुंग्याउनेछ,” मन्त्री लेखकले भने । उनले मुलुकको आर्थिक अवस्था अहिले लयमा फर्किएको दाबी पनि गरे। ‘दश महिना अघि र अहिलेको आर्थिक अवस्था धेरै फरक छ। विदेशी मुद्राको सञ्चिति बढेको छ, आर्थिक सूचकांकहरू सकारात्मक बनेका छन् । यो मेरो भनाइ होइन, राष्ट्र बैंकको तथ्यांक हो,’ उनले प्रष्ट्याए।
राजनीतिक स्थायित्वको सन्दर्भमा मन्त्री लेखकले वर्तमान गठबन्धन सरकारले देशमा स्थायित्व ल्याएको दाबी गर्दै भने, ‘प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत लिन जानु नपरेको अवस्था यसले प्रष्ट्याउँछ।’ उनले संविधान र गणतन्त्र विरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै स्पष्ट चेतावनी दिए। ‘कुनै पनि वादका नाममा संविधानमाथि प्रहार गर्न खोजिने हो भने त्यो स्वीकार्य हुँदैन,’ मन्त्री लेखकले भने।
नीतिगत भ्रष्टाचार रोक्न ल्याइएको अख्तियार सम्बन्धी विधेयकबारे उनले हाल संसदमा छलफल चलिरहेको जनाउँदै भने, ‘सबै विधेयकहरू छलफलमार्फत निष्कर्षमा पुर्याइनेछ । सरकार भ्रष्टाचार निर्मूल पार्न प्रतिबद्ध छ । अवाञ्छित र गैरकानुनी गतिविधिहरूलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा कारबाही गर्ने प्रक्रियामा अघि बढेको छ।’
सरकारको पूर्ण कार्यकाल पूरा हुनेमा पनि मन्त्री लेखक विश्वस्त देखिए । ‘फोटो खिचेको भरमा, फोन गरेको भरमा वा कसैसँग भेटको आधारमा सरकार ढल्छ भन्ने कुरा हुँदैन । यो सरकार पाँच वर्ष टिक्छ,’ उनले दाबी गरे।
‘कुलमानसँग सरकार ९ महिनासम्म अल्मलियो’ भन्ने जिज्ञासामा उनले सामान्य प्रशासनिक प्रक्रियालाई अनावश्यक विषय बनाउन खोजिएको आरोप लगाए । ‘सरुवा, बढुवा, नियुक्ति त सामान्य प्रक्रिया हुन् । यो अवधिमा सुशासन, कानुन निर्माण, नीतिगत सुधार र आर्थिक सुधारका क्षेत्रमा पर्याप्त काम भएका छन्। निराश हुने अवस्था छैन,’ मन्त्री लेखकको निष्कर्ष थियो।