काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कार्यसम्पादनमा देखिएको कमजोरीका कारण चेतावनी दिएको छ। राष्ट्र बैंकका अनुसार बैंक र सीईओबीच भएको सम्झौताअनुसार रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकिएको, योजनाहरूबीच समन्वय अभाव देखिएको, कर्जा स्वीकृति तथा नविकरण समयमै गर्न नसकेको, र उच्च व्यवस्थापन तहमा समन्वय अभाव देखिएकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार चेतावनी दिइएको हो।
त्यस्तै, नेपाल बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नामको दुरुपयोग गर्दै व्यक्तिगत लाभ हुने गतिविधिमा संलग्न भएको प्रमाणित भएकाले राष्ट्र बैंकले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको छ। राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० अन्तर्गत निर्देशन नं. ६/(८) को बुँदा १९५० अनुसार सञ्चालकले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गर्न नपाइने स्पष्ट प्रावधान छ, जुन उल्लंघन भएको ठहर गर्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (ग) बमोजिम कारबाही गरेको हो।