काठमाडौंं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय नेपालको वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा उल्लेखनीय प्रगति भएको बताएकी छिन्।
राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको जानकारी दिएकी हुन् । शाखा विस्तारसँगै वित्तीय पहुँच उल्लेख्य रूपमा बढेको उनले उल्लेख गरिन्।
डा. ढुंगानाका अनुसार, राष्ट्र बैंकले ल्याएका नीतिगत सहजीकरण, पूर्वाधार विकास तथा सुरक्षित, सहज र सस्तो भुक्तानी प्रणालीका कारण डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा वृद्धि भएको छ । साथै, अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भइसकेको उनले जानकारी दिएकी छिन् ।
यद्यपि उनले आन्तरिक अर्थतन्त्रमा अझै संरचनागत र व्यवस्थापनसम्बन्धी समस्याहरू रहेको औंल्याइन् । ‘ उच्च तरलता र न्यून ब्याजदरको अवस्थामा पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह र आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्चमा वृद्धि नहुनु र परियोजनाहरू समयमै सम्पन्न नहुनु जस्ता चुनौतीहरू कायम नै छन्,’ डा. ढुंगानाले भनिन्।