काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रतिवेदनले वाणिज्य बैंकहरूले ब्याजदर उतारचढाव र विदेशी विनिमय जोखिमको प्रभावकारी विश्लेषण नगरीकन नयाँ प्रोडक्ट तयार पार्ने गरेको औंल्याएको छ। बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको वार्षिक रिपोर्टमा यस्तो कमजोरीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको हो।
प्रतिवेदनअनुसार, वाणिज्य बैंकहरूले ब्याजदर जोखिम तथा विदेशी विनिमय जोखिमको पहिचान, मापन र न्यूनीकरणका लागि आवश्यक नीति र कार्यविधि विकास नगरेको पाईएको छ। राष्ट्र बैंकको एकीकृत निर्देशनले यस्तो जोखिम मूल्याङ्कन गरेर मात्र नयाँ बैंकिङ उत्पादन (प्रोडक्ट) ल्याउनुपर्ने व्यवस्था गरेको भएपनि अधिकांश बैंकहरूले यसको पालना पाईएको छ।
समिति बैठकहरूमा पनि रणनीतिक सोचको अभाव
सम्पत्ति तथा दायित्व समितिका बैठकहरू मुख्यतः निक्षेप र कर्जामा लाग्ने ब्याजदरको पुनरावलोकन, बजार ब्याजदरको तुलनात्मक विश्लेषण, र शुल्क तथा कमिसनको समीक्षा जस्ता विषयमा सीमित भएको पाइएको छ। लगानी रणनीति र जोखिम व्यवस्थापन जस्ता रणनीतिक विषयमा भने समितिको ध्यान नपुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
बाह्य ऋण र विदेशी मुद्रा जोखिममा समेत कमजोरी
रिपोर्टले बैंकहरूले विदेशबाट ल्याएको ऋणमा पर्याप्त जोखिम विश्लेषण नगरेको पनि देखाएको छ। ऋण सम्झौताबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभावको मूल्याङ्कन नगरी ऋण लिइएको, र सम्बन्धित ऋणमा नियामकीय व्यवस्थाहरूको पालना नगरेको उल्लेख गरिएको छ।
यस्तै, केही बैंकहरूले विदेशी मुद्रामा रहेको सम्पत्ति र दायित्वका तरलता जोखिमको निगरानी नगरेका छन् भने विदेशी विनियममा नेट ओपन पोजिसनका लागि जोखिम सीमा तोकिएको छैन। आकस्मिक वित्तीय योजना बनाउँदा महामारी, प्राकृतिक प्रकोप, वा तरलता संकटजस्ता बाह्य जोखिमहरूलाई पनि पर्याप्त ध्यान नदिएको देखिएको छ।
सूचना व्यवस्थापन र प्रणालीमा कमजोरी
सम्पत्ति-दायित्व समितिले केवल अवस्था रिपोर्टिङमा सीमित भई सक्रिय व्यवस्थापनका उपायहरू नल्याएको प्रतिवेदनमा उल्लेख छ। साथै, लगानी तथा निष्कासनसम्बन्धी विवरणहरू अझै म्यानुअल रुपमा अभिलेख राख्ने प्रवृत्ति देखिएको छ, जसमा सेयरको लागत, बोनस तथा लाभांश, शुल्क तथा कमिसन, र बजार मूल्यका आधारमा नाफारनोक्सान गणना समावेश छन्।
भल्ट, नगद र चेक-कार्ड व्यवस्थापनमा समस्या
राष्ट्र बैंकले बैंकहरूको भल्ट र नगद व्यवस्थापनमा पनि कमजोरी रहेको उल्लेख गरेको छ। भल्टमा प्रवेश अभिलेख कमजोर, पहुँच नियन्त्रणमा समस्या, नगद ओसारपसारमा अव्यवस्थितता र ‘क्लिन नोट’ नीतिको कमजोर पालना देखिएको छ। साथै, चेक तथा कार्ड व्यवस्थापनसम्बन्धी अभिलेख राख्न, हस्ताक्षर प्रमाणीकरणमा त्रुटि, र डिपोजिट भौचरमा सिस्टम प्रिन्टेड सूचना नराख्ने जस्ता कमजोरीहरू पनि फेला परेका छन्।
सीसीटीभी व्यवस्थापनमा पनि बैंकहरूले ९० दिनभन्दा कम ब्याकअप राख्ने, धमिलो दृश्य आउने, र बिग्रिएको क्यामेरा नफेर्ने जस्ता समस्याहरू देखिएको रिपोर्टमा उल्लेख छ।