prabhu

वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार, मुनाफा ३० अर्ब ६३ करोड पुग्यो, खराब कर्जा भने बढ्दो क्रममा !

काठमाडौं। चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष ०८०-  ८१ को सोही अवधिको तुलनामा बैंकहरूको मुनाफा वृद्धि भएको हो।

बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरूको कुल वितरणयोग्य मुनाफा ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो मुनाफा १० अर्ब २३ करोड रुपैयाँ ऋणात्मक थियो ।

यद्यपि केही बैंकहरूको मुनाफा अझै पनि ऋणात्मक छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य मुनाफा अझै नकारात्मक छ । विशेषगरी, अघिल्लो वर्ष पनि घाटामा रहेका हिमालयन बैंक, इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको घाटा झनै बढेको देखिन्छ ।

यस्तै यता  सिद्धार्थ बैंक , माछापुच्छ्रे बैंक , ग्लोबल आइएमई बैंक ,एनएमबि बैंक , नेपाल बैंक र लक्ष्मी सनराइज बैंकले अघिल्लो वर्षको घाटाबाट सुधार गर्दै यस त्रैमाससम्म मुनाफा देखाएका छन् ।

तर, समग्र रुपमा हेर्दा वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दो क्रममा छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा १. १८ प्रतिशत विन्दुले बढेर ४. ८३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३. ६५ प्रतिशत मात्र थियो ।

पुँजीको हिसाबले हेर्दा कुमारी बैंक र हिमालयन बैंकले प्राथमिक पुँजीकोषको न्यूनतम मापदण्ड पूरा गर्न नसकेका कारण लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन। कुमारी बैंकको प्राथमिक पुँजीकोष ७. ३१ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार, बैंकहरूले कम्तीमा ८. ५ प्रतिशत प्राथमिक पुँजीकोष र २. ५ प्रतिशत पूरक पुँजी ‘क्यापिटल कन्जरभेसन बफर’ कायम राख्नुपर्छ, जसअनुसार कुल ११ प्रतिशत हुनु आवश्यक छ।

हाल कुमारी बैंकको कुल प्राथमिक पुँजीकोष अनुपात ११. ८२ प्रतिशत छ भने हिमालयन बैंकको १०. ८४ प्रतिशत रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै