काठमाडौँ। आधार दर भनेको बैंकहरूले आफ्ना ग्राहकलाई ऋण दिनुअघि निर्धारण गर्ने न्यूनतम ब्याजदर हो। यो दर भन्दा कम ब्याजदरमा कुनै पनि बैंकले ऋण दिन सक्दैन।
आधार दर यस्तो दर हो जुन बैंकले आफ्नो लागत जस्तै: निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याज, सञ्चालन खर्च, जोखिम इत्यादि हेरेर तोक्छ। यो दरलाई आधार मानेर बैंकहरूले विभिन्न ग्राहकको प्रोफाइलअनुसार ऋणमा थप ब्याज थपेर अन्तिम ऋण दर निर्धारण गर्छन्।
आधार दरको अवधारणा
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । यस्तो ब्याजदर स्थिर वा परिवर्तनशील दुबै हुन सक्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारणमा विभिन्न तत्वहरु समावेश भएका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार ब्याजदर हो । तसर्थ, आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार दर मात्र हो ।
आधार दरका तत्वहरुमा निक्षेप लागत वा कोष लागत सबैभन्दा महत्वपूर्ण हुन्छ । यसबाहेक संस्था संचालनको लागि गर्नुपर्ने संचालन खर्च वापतको लागत, शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, निक्षेप लागत भन्दा कम प्रतिफल प्राप्तहुने गरी बैधानिक तरलता अनुपात कायम गर्दाको लागत र संस्थाका लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल कर्जाको आधार दरका प्रमुख तत्वहरु हुन् । आधार ब्याजदरमा कर्जामा निहित जोखिम प्रिमियम समावेश नगरिने हुनाले बैंक तथा वित्तीय संस्थाहरुले सो दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्दा संस्था स्वयम्को दीर्घकालीन अस्तित्वका साथै समग्र वित्तीय क्षेत्र स्थायित्वमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भएकोले आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्नु सामान्यतया उपयुक्त मानिदैन ।
बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भदरको रुपमा लिई ग्राहकक्षेत्र विशेष जोखिम तथा कर्जाको अवधि विशेष प्रिमियम समावेश गरी त्यस्तो ब्याजदर निर्धारण गर्ने गरिन्छ । ब्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा गर्न सकेमा यसबाट मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न समेत सहज हुन जाने देखिन्छ ।
आधार दरको उद्देश्य
-
बैंकहरूले मनपरी दरमा ऋण नदिउन् भन्ने सुनिश्चित गर्नु
-
ग्राहकहरूबीच निष्पक्षता कायम गर्नु
- ऋणदरमा पारदर्शिता ल्याउनु
यदि कुनै बैंकको आधार दर ९ प्रतिशत छ भने त्यो बैंकले ग्राहकलाई कम्तिमा पनि ९ प्रतिशत ब्याजदरमा मात्र ऋण दिन सक्छ। तर ग्राहकको जोखिम प्रोफाइल, व्यवसायिक स्थिति, आदि आधारमा त्यो दर १० प्रतिशत, ११ प्रतिशत वा अझ बढी पनि हुन सक्छ।