काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरीको तलबी खाता सञ्चालन तथा कर्जा सुविधामा थप सेवा समेटिएको नयाँ सम्झौता भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
मुख्य सुविधा यसप्रकार छन्:
कर्जामा विशेष ब्याजदर:
पेशाकर्मी सरल कर्जा: नेपाल राष्ट्र बैंकको आधार दरमा १.७५% प्रिमियम
घर कर्जा: १% प्रिमियम
गाडी कर्जा: २% प्रिमियम
शैक्षिक कर्जा: १% प्रिमियम
विशेष कर्जा सुविधा:
बहालवाला, अवकाशप्राप्त, अमर शहीद तथा अशक्त प्रहरी कर्मचारीले ५० लाख रुपैयाँसम्मको घर कर्जा (२० वर्षका लागि) र ७ वर्ष अवधिको गाडी कर्जा पाउनेछन्।
बीमा सुविधा:
प्रहरी कर्मचारीको दुर्घटनामा मृत्यु वा पूर्ण अपाङ्गता भएको खण्डमा ५ लाख रुपैयाँको बीमा हुनेछ।
सामान्य उपचार खर्चको लागि अस्पताल बसाइ र खर्च बापत बीमा सुविधा पनि उपलब्ध हुनेछ। बीमाका लागि वार्षिक शुल्क १०० रुपैयाँ लाग्नेछ।
सेवानिवृत्त प्रहरीका लागि अटो रिक्साको लागि कर्जा:
पेन्सनर कर्जा कार्यविधिअनुसार ८०% बैंक कर्जा र २०% स्वयं पूँजीको आधारमा ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।
भुक्तानी अवधि ५ वर्ष वा अधिकतम ६० किस्तासम्म हुनेछ।
लघु उद्यम, कृषि र व्यवसाय कर्जा:
प्रहरी परिवार, अमर शहीद तथा अशक्त प्रहरी परिवारले लघु उद्यम, कृषि, पशुपालन र साना व्यवसायका लागि कर्जा लिन सक्नेछन्। बैंकको आधार दरमा १% प्रिमियम ब्याजदर लागु हुनेछ।
धितो र खाता सम्बन्धी व्यवस्था:
घर, SME, र कृषि कर्जाका लागि अचल सम्पत्ति धितो राख्नुपर्नेछ।
कर्जाका लागि पेन्सन खाता राष्ट्रिय वाणिज्य बैंकमै हुनुपर्नेछ।
उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागू हुनेछ। कार्यक्रममा प्रहरी प्रमुख थापाले सम्झौताले प्रहरीलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे भने, सीईओ खनालले नेपाल प्रहरीसँगको सहकार्य भविष्यमा अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता जनाए।