PRABHU BANK

‘ढुङ्गे युग’मा फर्कने बाटोमा एनआईसी एशिया बैंक, नयाँ कम्पनीको खाता खोल्न एक हप्ता समय, कर्मचारी नै भइसके दिक्क

काठमाडौँ । सबै कागजात पुगेपछि बैंक खाता खोल्न कति समय लाग्ला ? बढीमा १ घण्टा ? हदै भए एक दिन ? वा कति ? सामान्यतया सबै कागजात पुगेको खण्डमा बैंक खाता एकछिनमा खुल्छ । तर एनआइसी एशिया बैंकमा नयाँ कम्पनीको खाता खोल्न १ हप्ता लाग्ने जानकारी बैंकले दिएको छ, जसले बैंक कतै ‘ढुङ्गे युग’मा त जाँदै छैन ? भन्ने शङ्का बढेको छ ।

घटना मङ्गलबारको हो । बैंकिङ संसार डटकममा कार्यरत कर्मचारी कम्पनीको खाता खोल्न एनआईसी एशिया बैंकको प्रधान कार्यालय पुगेका थिए । बैंकले मागेका सबै कागजात दिएपछि कर्मचारीले सो कागज रुजु पनि गरे । करिव आधा घण्टा कुराएर काम गरेपछि केही समय पछि भनियो- एक हप्तामा तपाईंले खाता नम्बर पाउनुहुन्छ ?

कस्तो अचम्म ! एउटा बैंक खाता खोल्न १ हप्ता ? हामीले प्रश्न गरेपछि बैंकका कर्मचारीले भने, ‘हो भन्या, यहाँ यस्तै नियम छ । हामी पनि दिक्क भईसक्यौँ ।’ सबै कागजात भेरिफाइ गर्नुपर्ने लगायतका कारण देखाउँदै एउटा सामान्य खाता खोल्न १ हप्ता नै लाग्छ भनेपछि हामीले बैंकका सूचना अधिकारी रन्जन खड्कालाई फोन गर्यौं ।

सुरुमा रञ्जन खड्काले ‘कहाँ त्यस्तो हुन्छ ? त्यहाँ को छ स्टाफ दिनुहोस् त म कुरा गर्छु’ भने । तर फोन कर्मचारीलाई दिने बित्तिकै उनले फोन काटे । त्यसपछि हामीले पटक पटक उनलाई कल ब्याक गर्यौँ । तर उनले फोन उठाएनन् ।

त्यसपछि हामी १ हप्तामा खाता खुल्ने अचम्मको नियमबारे थाहा पाएर कार्यालय फर्कियौँ । एउटा सामान्य खाता खोल्न नै १ हप्ता लाग्छ भनेपछि हामीले यस विषयमा राष्ट्र बैंकमा जिज्ञासा राख्यौँ । राष्ट्र बैंकका अधिकारीले हामीले बैंकको नाम नै नलिई ‘एनआईसी एशिया हो कि क्या हो ? भनेर जिज्ञासा गर्दा हामी थप छक्क पर्यौ । कारण, राष्ट्र बैंकलाई पनि एनआईसी एशिया बैंकले दिने गरेको दुखबारे थाहा रहेछ । 

‘खाता भनेको कागज पुर्याउने बित्तिकै खुल्छ । केही भेरिफिकेसनका इस्यु हुन सक्छन्, त्यो पनि बढीमा एक दिनमा सकिन्छ । खाता खोल्न नै एक हप्ता लाग्छ भन्नु ठिक भएन ।’ ती अधिकारीले भने ।

हामीले राष्ट्र बैङ्कमा यस विषयमा गुनासो पनि टिपाएका छौँ, राष्ट्र बैंकबाट के खबर आउँछ, त्यो भने हेर्न बाँकी नै छ ।                       

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै