काठमाडौँ । वाणिज्य बैंकहरुको शाखा ७५३ वटै स्थानीय तहमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको सेवा विस्तार भएको जनाएको हो ।
राष्ट्र बैंकले मंगलबार एक वित्तीय सन्देश जारी गर्दे सबै स्थानीय तहमा सेवा विस्तार भएकाले सर्वसाधारणलाई इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।
उक्त सन्देशमा भनिएको छ, ‘देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ्ग प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप २०८१ माघ २८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ ।’
२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५०७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५ सय ४५ पुगेको छ ।
उक्त आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा दुई हजार ५ सय २६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । सूचना: