काठमाडौँ । सिन्धु विकास बैंकका नवनियुक्त सीईओ सुरेश देवकोटाले आफ्नो पदभार सम्हालेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवकोटाले पुष २६ गते बैंकको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच पदभार सम्हालेका हुन् ।
उनी आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका छन्। सीईओको पदभार सम्हाल्दै देवकोटाले संस्थागत सुशासन र नियमकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको उल्लेख गरेका छन्।
त्यस्तै, करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करियर विसं २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका हुन् । उनले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए ।
सिन्धु विकास बैंकका नवनियुक्त सीईओ देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन् ।