PRABHU BANK

ग्लोबल आइएमई बैंकले सूचना प्रविधि क्षेत्रको विकास गर्नका लागि नासआईटीसँग गर्यो सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सूचना प्रविधि क्षेत्रको विकास गर्नका लागि नासआईटीसँग सम्झौता गरेको छ । बैंकले नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नासआईटी) सँग एक कार्यक्रमकाबीच दिगो साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नासआईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नासआईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूको बारेमा जानकारी गराएका छन् । साथै, उनले यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने उल्लेख गरेका छन् ।

बैंकको यस दिगो साझेदारी सम्झौता अन्तर्गत ग्लोबल आइएमई बैंकले नासआईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंक नासआईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नासआईटीको आपसी सहकार्यमा अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै