काठमाडौँ। ग्लोबल आइएमई बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।



