National

बैंकको ब्याज निरन्तर घट्दा पनि बढेन घरजग्गाको कारोबार

काठमाडौं । बैंकहरुको ब्याज उल्लेख्य घटेपनि घरजग्गाको कारोबार भने सो अनुसार नबढेको पाइएको छ ।  पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता भएको स्थिति रहँदा र ब्याजदर पनि निरन्तर घट्दासमेत घरजग्गाको कारोबार उल्लेख्य नबढेको पाइएको हो । यसका कारण सरकारले पाउने राजश्व पनि बढ्न सकेको छैन ।

यसको मुख्य कारण आर्थिक मन्दी भएको बैंकर तथा व्यवसायीहरुको भनाई छ । मन्दीकै कारण ब्याजदर एकल अंकमा आउँदा पनि व्यवसाय उत्साहजनक हुन नसकेका कारण घरजग्गाको कारोबार पनि नबढेको हो ।

चालु आर्थिक वर्ष २०८०-८१ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति थुप्रिएको बताउँछन् ।  बैंक हरुमा थुप्रिएको यस्तो गैर बैंकिङ सम्पत्तिले पनि घरजग्गाको कारोबारमा समस्या रहेको संकेत गरेको छ ।

घरजग्गा तथा सेयरको कारोबार घटेको भन्दै केहि समयअगाडी अर्थमन्त्री बर्षमान पुनले चासो व्यक्त गरेका थिए । उनले यी दुवैखाले कारोबार बढाउन सरकार लागि पर्नेसमेत बताएका थिए । तर, अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने घरजग्गाको कारोबार बैंकको ब्याज निरन्तर घट्दा पनि नबढेपछि सरोकारवालाहरु चिन्ता र चासो व्यक्त गरिरहेका छन् ।

यसअघि बैंकको ब्याज घट्ने बित्तिकै घरजग्गाको कारोबार बढ्ने गरेको थियो । ब्याजदर घट्नेबित्तिकै बैंकहरुले घरजग्गामा उल्लेख्य लगानी गर्ने गरेका थिए । तर व्यवसायीहरु ऋण लिन नआएपछि यतिबेला बैंकहरुले घरजग्गामा कर्जा लगानी गर्न सकिरहेका छैनन् ।

तस्विर : रियलस्टेट नेपाल

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै